राजनीति ,समाचार

देश जलाउने शक्तिलाई जनताले पराजित गर्छन् : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजकक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमनकारी प्रवृत्तिलाई जनताले पराजित गर्ने दाबी गरेका छन् ।

रुकुम पूर्वमा आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार रहेका प्रचण्डले शनिबार जिल्लाको चुनबाङमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

भदौ २३ गते सरकारले जेनजीमाथि नरसंहार मच्चाएको र भदौ २४ गते देशका विभिन्न संरचनामा आगजनी र विध्वंश मच्चाइएको उल्लेख गर्दै प्रचण्डले त्यो दुबैखाले प्र्रबृत्तिलाई जनताले दण्डित गर्ने दावी गरे । ‘एकातिर कलिला युवाको हत्या भयो, अर्कोतिर सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो, निजी सम्पत्ति र घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्’ उनले भने।

छिमेकी मुलुक बंगलादेशमा हालै सम्पन्न निर्वाचन परिणामबाट पनि सिक्नुपर्ने आवश्यकता प्रचण्डले औँल्याए। उनका अनुसार त्यहाँ पनि आगजनी र अस्थिरता सिर्जना गर्ने शक्तिले जित्ने दाबी गरिएकोमा अन्ततः स्थिरता चाहने पक्ष विजयी भएको छ ।

सामाजिक सञ्जालमा धेरै अनुयायी भएका व्यक्तिहरूले समेत अपेक्षित सफलता नपाएको उदाहरण प्रचण्डले ‘हल्लाखोर’ राजनीतिले काम नगर्ने तर्क प्रस्तुत गरे। रोल्पा–रुकुमका जनताले हिंसा, कुशासन र दमनको चरित्र राम्रोसँग बुझेको उल्लेख गर्दै उनले अब देशभरका मतदाताले पनि यथार्थ छुट्याउने विश्वास व्यक्त गरे।

संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउने प्रवृत्तिलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको दाबी गरे। ‘यहाँका जनताले बुझिसकेका छन्, अब देशभरिका जनताले पनि बुझ्नेछन्,’ उनले भने।

रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउँदै प्रचण्डले भरतपुरमा लागू गरिएको विकास अवधारणालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

राजनीति , समाचार