निर्वाचन झापा–५ : बालेनपत्नी चर्चमा, केपी ओली पुराणमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार अभियान अझै सुरु भइसकेको छैन । निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि मात्रै प्रचार गर्न पाइन्छ । देशकै चर्चित निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा भने चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
औपचारिक अभियान नखुले पनि दलहरू आन्तरिक बैठक, रणनीतिक छलफल र अप्रत्यक्ष चुनावी गतिविधिमा सक्रिय देखिएका छन् । उम्मेदवार र उनीहरूका प्रतिनिधि औपचारिक घोषणा नगरी घरदैलो अभियानमा निस्किएका छन् । यससँगै ग्रामीण क्षेत्रमा चुनावी बहस र मतदाताबीचको ध्रुवीकरण पनि बढ्न थालेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता बालेन्द्र शाह (बालेन) बीचको मुख्य प्रतिष्पर्धाले यस क्षेत्रलाई रोचक मात्र बनाएको छैन, उम्मेदवारहरू मत तान्न भिन्न–भिन्न शैली र रणनीतिमा देखिएका छन्। नेकपाका उम्मेदवार रञ्जीत तामाङ र काँग्रेस उम्मेदवार मन्धरा चापागाईं मतदाता भेटघाटमा गाउँघर पुगिरहेका छन् ।
आन्तरिक रणनीतिक तयारी सकेर दल र उम्मेदवार मतदाताकोमा पुग्न थालेका छन् । उम्मेदवारी दर्तापछि दुई दिन झापा बसेर काठमाडौं फर्किएका एमाले अध्यक्ष ओली शुृक्रबार झापा आएका छन् । उनी एक साता झापामा रहने बताइएको छ ।
यस्तै उम्मेदवारी दर्तापछि सुदुरपश्चिमसम्मको यात्रामा निस्किएका रास्वपाका शाह पनि दोस्रो पटक झापा पुगेर मध्यपहाडी क्षेत्र हुँदै पश्चिमतिर लागेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जीत तामाङ, नेपाली काँग्रेसका मन्धरा चिमरियासहितका उम्मेदवार भने निर्वाचन क्षेत्रमै मतदाता भेटघाटमा सक्रिय देखिएका छन् ।
चर्चमा बालेनको जितको ‘घोषणा’
शनिबार दमक नगरपालिका–३ को ढुकुरपानीस्थित सुकुम्बासी बस्तीमा रहेको ज्योती चर्च मण्डलमा रास्वपाको टोली पुगेको थियो । टोलीको नेतृत्व बालेनकी पत्नी सविना काफ्लेले गरेकी थिइन् । ३०–४० जनाको समूहसहित चर्च पुगेको टोलीले बालेनको जितका लागि प्रार्थना गर्यो ।
यसअघि पाथीभरा, हलेसहितका हिन्दु मन्दिरको दर्शन गर्दै शाह चुनाबी अभियानमा रहेकोमा पत्नी सविनाले भने चर्चमा प्रार्थना गरेकी थिइन् । त्यसक्रममा चर्चकी पास्टरले बालेनको विजयको घोषणा गरिन् । पत्नी सविनाको टाउकोमा हात राखेर पास्टरले भनिन्, ‘एक मात्र परमेश्वर हुनुहुन्छ । म बालेन शाहको विजयको घोषणा गर्दछु, घोषणा, घोषणा, घोषणा । हलेलुईया अमिन ।’
चर्चबाट बाहिरिएपछि टोली सुकुम्बासी बस्तीमा छिर्यो । ‘यो पटक मत परिवर्तन गर्नुपर्छ’ भन्दै रास्वपाका कार्यकर्ताले बस्तीका मतदातालाई भनिरहेका थिए । तर, बालेनपत्नी सविनाले नमस्कार गर्नुबाहेक कुनै संवाद गरेको देखिएन । त्यसक्रममा मतदाताले आफूहलाई भोट बैंक मात्र बनाएको, वर्षौदेखि जग्गाको पुर्जा नपाएको, खानेपानीको समस्या रहेको जस्ता समस्या राखेका थिए । टोलीमा रहेकी रास्वपा कार्यकर्ता लक्की सिटौलाले डायरी निकालेर नोट गरिन् । भनिन्, ‘सबै कुरा टिपेको छु, अब समाधान हुन्छ ।’ उनीहरु त्यसपछि अगाडि बढे ।
बस्तीमा रहेका कतिपय व्यक्तिले घण्टीमा भोट हाल्ने भन्दै अन्य दललाई बस्तीमा छिर्न नदिने बताइरहेका थिए भने कतिपयले त्यसको प्रतिवाद गरिरहेको देखिन्थ्यो । भोट माग्न पनि आफैं नआएर श्रीमती पठाउनेलाई किन भोट दिनु ? भन्दै केहि व्यक्ति बालेन नआएकोमा गुनासो गरिरेहका थिए । आफू एमालेको कार्यकर्ता रहेको बताउने एक व्यक्ति भने यो पटक केपी ओलीलाई सबक सिकाउन घण्टीमा भोट हाल्ने संकेत गर्दै थिए । बस्तीमा भेटिएका एक मतदाताले भने माटोले मात्र सहि एजेन्डा उठाएको भन्दै सोही पार्टीलाई भोट दिने बताइहरेका थिए । माटो चिन्ह रहेको हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट सो क्षेत्रमा समिर तामाङ उम्मेदवार छन् ।
पुराणमा ओली, चोक–बजारमा नमस्कार
शुक्रबार दिउँसो एमाले अध्यक्ष ओली कमल गाउँपालिका–१ को सरङपाडा बजारमा मतदाता भेटघाटमा व्यस्त देखिए । अघिल्ला निर्वाचनमा सभा गर्नुबाहेक घरदैलो अभियान नगर्ने ओली यस पटक चोक बजारमा नमस्कार गर्दै हिँडेका थिए । उनी स्थानीय कर्णबहादुर खड्काको घरमा आयोजना गरिएको पुराणमा सहभागी भए ।
पुराणमा पुगेर ओलीले धर्म र संस्कृतिबारे प्रबचन दिए । उनले शिव भगवानदेखि विश्वमित्र ऋषिसमेत यहि क्षेत्रमा जन्मिएको आफ्नो पुरानो दावी दोहोर्याउँदै सनातन धर्म र संस्कारको रक्षा गर्नुपर्ने बताए । उनले धार्मिक कार्यक्रममा पुगेर मतदातको मत तान्ने प्रयास गरेको देखिन्थ्यो । चुनाबी आचारसंहिताबारे सचेत देखिएका उनले खुलेर मत भने मागेनन् । तर, देश बनाउने अभियानमा आफू रहेको बताए । देशको समृद्धि र विकास बाहेक आफ्नो चाहना नरहेको उनको भनाइ थियो ।
ओली पुराणमा पुग्दा ठूलो टोली थिएन । उनका आलोचकले ओलीको पछाडि मान्छे हिँड्न छाडेकोले यस्तो भएको बताइरहँदा एमाले कार्यकर्ता भने चुनाबी आचारसंहिता अनुसार सानो टोली लिएर हिँडेको बताइरहेका थिए । पुराणमा सहभागी कतिपय ओलीलाई भेट्न र फोटो खिच्न पाएकोमा खुसी देखिन्थे भने कतिपय यस पटक मत परिवर्तन गर्ने बताइरहेका थिए ।
ओलीले पुराणमा आफ्नो कुरा राखिरहँदा एक व्यक्तिले घण्टी बजाइदिए । त्यसले एमाले कार्यकर्तामा असहज अनुभूति गराएको देखिन्थो । ओलीले शनिबार कमल गाउँपालिकाको छलफल चोक, सोलमारी, सरङपाण, ढ्यांग्री, क्याम्पा र केर्खा बजारमा पुगे । यस्तै उनी तीन वटा पुराणमा पुगेको टोलीमा सहभागी एक कार्यकर्ताले बताए । यस पटक ओलीले दबाब महशुस गरेकोले क्षेत्रमा धेरै ध्यान दिएको एमाले कार्यकर्ताले बताएका छन् ।
#copy
ताम्रलेख डेस्क