कोशी विशेष,राजनीति ,समाचार

निर्वाचनमा झापा १: को सुरक्षित !

झापा । फागुन २१ को चुनावी मिति जति–जति नजिकिंदै छ, सुदूरपूर्वको झापा क्षेत्र नम्बर १ मा उम्मेदवारहरुको दौडधुप पनि उत्कर्षमा छ । मतदान मिति आउन महिना दिन बाँकी रहँदै सबैजसो दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । 
यसपटक नयाँ अनुहारहरुबीच हुन लागेको चुनावी भिडन्तका कारण पनि झापा १ चासोको क्षेत्र बनेको छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको यो क्षेत्रमा यसपटक उनी उम्मेदवार छैनन् । 
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति प्रमुख बनेर देशव्यापी अभियानमा निस्केका शर्माले २०७९ को चुनावमा यो क्षेत्रबाट जित हात पारेका थिए । 
यसपटक कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । 
एमालेले रामचन्द्र उप्रेतीलाई मौका दिंदा नेपाली कम्युनिष्ट पार्टीले इञ्जिनियर अशेष घिमिरेलाई मैदानमा उतारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसांसद निशा डाँगी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले केवलराम राईलाई उम्मेदवार बनाएको छ । 
यो क्षेत्रमा प्रमुख दलका यिनै उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा छ । 
अहिले झापा १ भनेर चिनिने यो क्षेत्रको बहुसंख्यक भूगोल कुनैबेला झापा ३ मा पथ्र्यो । २०४८ मा यो क्षेत्रबाट एमालेका राधाकृष्ण मैनाली, २०५१ मा एमालेकै देवीप्रसाद ओझा, २०५६ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ विजेता बनेका थिए । 
२०६४ को पहिलो संविधानसभामा माओवादीका धर्म घिमिरेले जितेको झापा १ मा २०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्की विजयी भएका थिए । 
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तेस्रो पटकमा २०७९ मा जित हात पार्न सफल भएका थिए । 
उनी २०७० र ७४ मा पनि उम्मेदवार थिए । यसपटक विशेष महाधिवेशनबाट महामन्त्रीबाट उपसभापति बनेका शर्मा चौथो पटक उम्मेदवार बन्न चाहेनन् । त्यसैले उनले यसपटक आफैले केशवराज पाण्डे लाई नाम सिफारिस गर्न लगाई पार्टीको तर्फबाट उमेदवार बनाई निर्वाचनमा होमिने अवस्था बनेको छ। 
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्जिनियर अशेष घिमिरे कम्युनिस्ट राजनीतिका नयाँ पुस्ताका प्रतिभाशाली नेतामध्ये गनिन्छन् । उनले विद्यार्र्थी राजनीतिबाट यात्रा सुरु गरेका थिए । 
यो क्षेत्रमा यसपटक सबैभन्दा उदाहरणीय चुनाव प्रचार अभियान घिमिरेकै देखिन्छ । चुनावी खर्चलाई ‘भ्रष्टाचारको बीउ’ मान्ने उनले मितव्ययी अभियान चलाइरहेका छन् ।
एमालेका रामचन्द्र उप्रेती झापा–१ का लागि नयाँ अनुहार होइनन् । संगठनात्मक राजनीतिमा लामो समय सक्रिय रहेका उप्रेती निष्ठावान नेताका रूपमा चिनिन्छन् । 
विघटित प्रतिनिधिसभाकी समानुपातिक सांसद निशा डाँगीका लागि भने क्षेत्रको भूगोल नयाँ हो ।
झापा–१ मा मेचीनगर नगरका सबै १५ वडा, भद्रपुर नगरपालिकाका वडा नं ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाका वडा नं ४, ५, ६ र ७ पर्छन् । यसपटक यो क्षेत्रमा १ लाख ३१ हजार ६७ जना मतदाता छन् ।
२०७९ को निर्वाचनको समानुपातिक मत परिणाम अनुसार नेपाली कांग्रेस बलियो स्थितिमा देखिन्छ । कांग्रेसले २५ हजार ४ सय २० मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ५ सय ४७ मत प्राप्त गरेको थियो । 
राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ७ सय ५० मत पाउँदै तेस्रो स्थान सुरक्षित गरेको थियो । त्यस्तै, माओवादी केन्द्रले ५ हजार मत पाउँदा एकीकृत समाजवादीले ५ सय २९ मत  प्राप्त गरेको थियो ।

कोशी विशेष, राजनीति , समाचार