गोपनीयता भंग हुने प्रश्न गर्न मोरङ प्रशासनको निषेध
विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्ने ?’ भनी प्रश्न गर्न स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले मतदाताको व्यक्तिगत निर्णय र गोपनीयताको अधिकार सुरक्षित गर्न यस्तो निर्देशन दिएको हो ।
पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यम, फेसबुक र युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वसाधारण तथा मतदातालाई ‘कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गर्नुहुन्छ ?’ भनी प्रत्यक्ष प्रश्न गर्ने क्रम बढ्दै गएपछि कार्यालयले कडाइ गरेको जनाएको छ । मोरङका आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता भंग हुने गतिविधि भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ ।
सूचनामा निर्वाचन आचारसंहिता २०८२ को दफा ४(द) अनुसार यस प्रकारको प्रश्न सोध्नु आचारसंहिता उल्लंघनको कार्य भएको स्पष्ट गरिएको छ । कार्यालयले सूचना जारी भइसकेपछि पनि कसैले यस्ता गतिविधि निरन्तरता दिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।
निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयता कायम राख्न मतदानको गोपनीयता अनिवार्य रहेको भन्दै प्रशासनले सबै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयम अपनाउन आग्रह गरेको छ । यसअघि सामाजिक सञ्जालमा ‘स्ट्रीट पोल’ वा ‘मतदाता सर्वेक्षण’ का नाममा सर्वसाधारणलाई प्रत्यक्ष रूपमा कसलाई मतदान गर्ने भन्ने प्रश्न सोध्ने अभ्यास बढेपछि निर्वाचन प्रशासन सक्रिय भएको हो ।
प्रशासनका अनुसार मतदातामाथि दबाब पर्न सक्ने तथा स्वतन्त्र मतदानमा असर पुग्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।
ताम्रलेख डेस्क