इलेक्सन इपिसेन्टर झापामा सुरक्षा कडा, ९ हजार सुरक्षाकर्मी परिचालन
भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलेक्सन इपिसेन्टर मानिएको झापामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । देशकै ध्यान खिचिएका हेभिवेट उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ९ हजार सुरक्षाकर्मी परिचालन गरेको हो ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहितको एकीकृत टोली खटाइएको छ । झापा र इलामको सुरक्षा समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको छ ।
झापाका कुल २८५ मतदानस्थलमध्ये ९५ वटालाई अतिसंवेदनशील १४७ लाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार सुरक्षाका लागि तीन घेराको व्यवस्था गरिएको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् ।
‘हामीले संयुक्त गस्ती र पेट्रोलिङ तीव्र पारेका छौँ,’प्रजिअ गेलालले भने ‘नागरिकहरू ढुक्क भएर मतदान गर्न आउन सक्नुहुनेछ, सुरक्षाको पूर्ण ग्यारेन्टी छ ।’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले अन्य समयको तुलनामा निर्वाचनमा दोब्बर प्रहरी परिचालन गरिएको जानकारी दिए
।
झापा यसपटक मुख्य राजनीतिक शक्तिहरूको शक्ति प्रदर्शनको केन्द्र बनेको छ । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् ।
त्यस्तै, क्षेत्र नं.२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी मैदानमा छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाटै उम्मेदवार रहेकाले यहाँको चुनावी माहोल निकै तातिएको छ ।
बिहीबारको मतदानका लागि झापाका सबै २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरूमा सोमबार साँझ नै कर्मचारी र आवश्यक निर्वाचन सामग्री पुगिसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार मंगलबारदेखि कर्मचारीहरू मतदान केन्द्रको तयारीमा जुटेका छन् ।
झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् । यसपटक ५० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि ४ हजार ९४५ स्थायी कर्मचारी र २ हजार ४४५ स्वयंसेवक खटाइएको छ ।
विगतका निर्वाचनमा ६५ देखि ७० प्रतिशत मात्र मत खसेको झापामा यसपटक ९० प्रतिशत मत खसाल्ने लक्ष्यका साथ मतदाता शिक्षा प्रभावकारी बनाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताम्रलेख डेस्क