राजनीति ,समाचार

कांग्रेसले नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसका शीर्ष पाँच (बिग फाइभ) नेताले पार्टीका तर्फबट निर्वाचित सांसदहरूलाई संसदीय मामिलाबारे प्रशिक्षण दिने भएका छन् ।

सभापति थापासँगै उपसभापतिद्वय र महामन्त्रीद्वयले सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे प्रशिक्षण दिने भएका हुन् । जसका लागि कांग्रेसले शनिबार नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्न लागेको छ । कार्यक्रम सानेपामा बिहान ११ बजे सुरू हुने छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम राखिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल, गुरूराज घिमिरेले सांसदहरूलाई ‘संसदीय सचेतना’ बारे प्रशिक्षण दिने कांग्रेसले जनाएको छ ।

यस्तै संसदीय मामिलाका जानकार राधेश्याम अधिकारी र मुकुन्द शर्मालाई ‘संसदीय सचेतना’ कार्यक्रमका लागि विज्ञका रूपमा आमन्त्रण गरिएको महामन्त्री पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।

समाचार