समाचार

निर्वाचन अवधिको मौसम : अधिक ठाउँमा सामान्य, केही ठाउँमा आंशिक वर्षा र हिमपात

जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा मौसम सामान्य नै रहने पूर्वानुमान गरेको छ । फागुन २० देखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ ।

शुक्रबार साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कको विश्लेषण गरेको जनाएको छ । सोही विश्लेषणका आधारमा निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो ।यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान विभागको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने जनाइएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे खास वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने जनाइएको छ । तर पनि नियमित अनुगमन र अद्यावधिक गर्दै जाने भएकाले दैनिक अद्यावधिक सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ । –रासस

समाचार