शेखरले कांग्रेस सभापति गगनलाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरियो
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित गराउने उद्देश्यले पार्टीकै नेता शेखर कोइराला सक्रिय भएको दाबी गर्दै एक अडियो सार्वजनिक भएको छ।
मोरङ–६ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका कोइरालाले सभापति थापालाई हराउन कार्यकर्ता परिचालन गरेको आरोप लगाइएको छ। सार्वजनिक अडियोमा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत सर्लाही–४ मा गतिविधि सञ्चालन गरिएको संकेत भेटिएको दाबी गरिएको छ।
थापालाई पराजित गराएर सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहलाई विजयी गराउने उद्देश्य राखिएको आरोप संस्थापन पक्षले लगाएको छ। अडियो संवादमा धनुषा ढल्केबरका सिंह थरका एक कांग्रेस कार्यकर्तालाई सर्लाही–४ मा परिचालन गरिएको उल्लेख गरिएको छ।
कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट क्रमशः सभापति र महामन्त्रीका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। पछिल्लो समय दुवै नेताबीच दूरी बढ्दै गएको चर्चा थियो। नियमित महाधिवेशनको पक्षमा उभिएका कोइराला विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि असन्तुष्ट बनेका थिए। त्यसक्रममा उनी तत्कालीन सभापति शेरबहादुर देउवाको पक्षमा उभिएको राजनीतिक पृष्ठभूमि पनि उल्लेख गरिएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवा पक्ष अदालत पुगे पनि तत्काल सुनुवाइ नहुँदा कोइराला सभापति थापाको हस्ताक्षरयुक्त टिकट लिएर मोरङ–६ बाट उम्मेदवार बनेका हुन्।
कांग्रेस केन्द्रीय समितिले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको निर्णयसमेत गरिसकेको छ। यस्तो अवस्थामा सर्लाही–४ मा थापालाई हराउन सके संसदीय दलको नेतृत्वमा दाबी गर्न सहज हुने र पार्टीभित्र प्रभाव बढाउन सकिने उद्देश्यले कोइरालाले योजना बनाएको हुन सक्ने संस्थापन पक्षको आशंका छ।
सर्लाहीका एक कांग्रेस कार्यकर्ताका अनुसार पूर्व प्रदेश सांसद उपेन्द्र कुशहवालाई प्रभावमा पार्ने प्रयास भएको संकेत देखिएको छ। तर, लामो समय देउवा निकट मानिएका कुशहवाला पछिल्लो समय थापासँग निकट रहेको र उनको चुनावी अभियानमै सक्रिय रहेको बताइएको छ।
अडियो संवादमा परिचालित व्यक्तिले ‘उपेन्द्रलाई मिलाउन’ लाग्ने रकमको स्रोतबारे सोध्दा स्वकीय सचिव थपलियाले ‘अमरेशले दिन्छ’ भन्ने जवाफ दिएको सुनिएको दाबी गरिएको छ।
धनकौल क्षेत्रमा अस्वाभाविक गतिविधि गरेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताले ती व्यक्तिलाई नियन्त्रणमा लिएको र सो क्रममा अडियो बाहिर आएको बताइएको छ। नियन्त्रणमा परेका व्यक्तिले आफूलाई शेखर कोइरालाले परिचालन गरेको स्वीकार गरेको दाबी स्थानीय कार्यकर्ताले गरेका छन्।
#ratopati
ताम्रलेख डेस्क