हार्ने देखिएपछि रास्वपा चुनाव भाँड्न खोज्दैछ- ओली
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले पछिल्ला केही दिन यता देखिएका गतिविधिले रास्वपाले चुनाव भाँड्न खोजेको जस्तो अनुमान गर्न सकिने बताए ।
‘यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने लड्ने, आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने खालको प्रवृत्तिमा देखिन्छ’, ओलीले भने ।
उनले चुनाव बलजफ्ती गर्ने विषय नभएको बताए । निर्वाचन नियम कानूनभित्र स्वच्छ प्रतिस्पर्धा, स्वस्थ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित रूपमा हुनुपर्ने बताए ।
‘मतदाताले निर्भय वातावरणमा गएर बिना कुनै अवरोध स्वेच्छाको आफ्नो मत निर्बाध दिन पाउनुपर्छ । यो मात्र निर्वाचन हुन्छ । त्यसको सम्पूर्ण प्रक्रिया, गणना र परिणाम घोषणासम्म, मतदान अगाडिदेखिका प्रक्रिया पारदर्शी हुनुपर्छ, निष्पक्ष हुनुपर्छ’, ओलीले भने ।
उनले अहिले निर्वाचनको वातावरण र शान्ति भड्काउन विभिन्न प्रयास भइरहेको टिप्पणी गरे । सबै कुराको निराकरण राजनीतिक दलले जिम्मेवारी बोध गर्नुपर्ने बताए ।
‘एउटा अप्रिय घटना नेपालमा भयो, भदौ २३-२४ गते । नहुनुपर्ने खालको, मानिसको ज्यान जाने खालको, देशमा आगजनी, लुटपाट, तोडफोड, भयानक हिंसा, सार्वजनिक सम्पत्तिदेखि लिएर राज्यका प्रमुख अंगका कार्यालय, संरचना ध्वस्त पार्ने काम भयो’, ओलीले भने, ‘यो अत्यन्तै आपराधिक मनोवृत्ति हो । नेपाली समाजमा हुनै नहुने खालको काम हो । दु:खलाग्दो कुरा हो ।’
देशलाई, देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई जोगाएर आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि लैजानुपर्ने ओलीको भनाइ छ ।
ताम्रलेख डेस्क