राजनीति ,समाचार

कांग्रेसको निर्वाचन प्रतिज्ञापत्र: निर्वाचन प्रणाली संशोधन र भ्रष्टाचारमुक्त नेपालको संकल्प

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर आफ्नो चुनावी योजना सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट गगन थापाले प्रतिज्ञापत्रमा समेटिएका विभिन्न विषयहरूमाथि प्रकाश पार्दै मुलुकको मुहार फेर्ने संकल्प व्यक्त गरे। कांग्रेसले बहुमत प्राप्त गरेर सरकार निर्माण गरेमा वा नगरेमा पनि आफ्ना प्रतिज्ञाहरूबाट पछि नहट्ने प्रतिबद्धता जनाउँदै सुशासन र विधिको शासनलाई प्रमुख एजेन्डा बनाएको छ।
वर्तमान संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै कांग्रेसले निर्वाचन प्रणालीमा सुधारको प्रस्ताव अघि सारेको छ। अहिलेको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत आउन कठिन देखिएकाले समावेशितालाई अझै बलियो बनाउने गरी एउटै दलले बहुमत ल्याउन सक्ने निर्वाचन प्रणाली बनाउन संविधान संशोधन गरिने थापाले बताए। यसका लागि निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल गरी एउटा साझा ‘फ्रेमवर्क’ तयार पार्ने कांग्रेसको योजना छ। साथै, संवैधानिक परिषद् र न्यायपरिषद्को बनोटमा परिवर्तन गरी यी निकायहरूलाई थप निष्पक्ष बनाउन संविधान संशोधन गरिने प्रतिज्ञापत्रमा उल्लेख छ।
सुशासनका क्षेत्रमा कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल दुई पटकमा मात्र सीमित गर्ने र मन्त्रालयको सङ्ख्यामा भारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ। जसअनुसार संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय बनाइनेछ भने सत्ता समीकरण मिलाउन मन्त्रालय थप्ने कार्यलाई पूर्णतः निषेध गरिनेछ। यसका साथै सरकारी नियुक्तिहरूमा दलीय भागबण्डाको सट्टा योग्यता र क्षमतालाई आधार बनाइने र सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथ लिनुअघि र पद छाडेपछि अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था मिलाइने थापाले बताए।
भ्रष्टाचार निर्मूल पार्नका लागि पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त मुलुक बनाउने लक्ष्य राखिएको छ, जहाँ नेता वा नाता नभनी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाइएको छ। नागरिक सेवालाई कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित बनाउने र सेवा प्रवाहमा ढिलाइ भएमा क्षतिपूर्तिको व्यवस्था गर्ने जस्ता जनपक्षीय योजनाहरू पनि कांग्रेसले अघि सारेको छ।
आर्थिक विकास र रोजगारीका क्षेत्रमा कांग्रेसले आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। विशेष गरी कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा केन्द्रित रहेर यी रोजगारीहरू सिर्जना गरिनेछन्। युवाहरूको डिजिटल स्वतन्त्रता र उनीहरूको सिर्जनालाई सम्मान गर्ने नीति लिँदै बजारको सुनिश्चितता गर्ने योजना पनि अघि सारिएको छ। यस्तै, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यतालाई आत्मसात गर्दै गैरआवासीय नेपालीका लागि आवश्यक कानुनी र संवैधानिक सुधार गर्ने प्रतिज्ञा गरिएको छ।
पछिल्लो समयको गठबन्धनको राजनीतिले लोकतन्त्रलाई दूषित बनाएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै बहुमत ल्याउने गरी अघि बढ्ने उद्घोष गरेको छ। विगतका कमजोरीहरूलाई सच्याउँदै र आफ्ना मूल्य मान्यताहरूलाई थप परिष्कृत गर्दै देश बदल्ने संकल्प लिएको कांग्रेसले चुनावपछि कसैसँग भागबण्डा नगर्ने स्पष्ट पारेको छ। सोही कार्यक्रममा थापाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने र आफू प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने दाबी समेत गरे।

 

राजनीति , समाचार